नेपाल, चीन र पाकिस्तानसँग भारतको सीमा विवाद, मोदीको अग्नि परिक्षा !

नेपाल, चीन र पाकिस्तानसँग भारतको सीमा विवाद, मोदीको अग्नि परिक्षा !

४ असार, काठमाडौँ । छिमेकी मुलुक नेपाल, चीन र पाकिस्तानसँग भारतको सीमा विवाद भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरिक्षा शुरु भएको छ ।

छिमेकी देशहरुसँगको सीमा विवाद चर्किएपछि प्रधानमन्त्री मोदी दबाबमा आएका छन् । पछिल्लो ताजा घटना चीनसँगको सीमामा कुराकानी चलिरहेका बेला भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएपछि स्थिति गम्भीर बनेको हो ।

यस घटनामा चीनतर्फ पनि मानवीय क्षति भएको भारतीय मिडियाहरुले दाबि गरेपनि चीनले आधिकारिक रुपमा अहिलेसम्म कुनै जानकारी या भारतीय मिडियाको दाबि पुष्टि गरेको छैन ।

चीनसँगको सीमा विवाद लामो समयदेखि चलिरहेको भएपनि ज्यान जाने तहको झडप या लडाई भने लामो समयदेखि भएको थिएन ।

चीनले गलवान घाटीमा रक्षासम्बन्धि निर्माण गरिरहेको आरोप लगाउदै सो क्षेत्रमा आफ्नो सैनिक गतिबिधि बढाएपछि पछिल्लो घटना भएको हो । दुवै देशले सेनाको गतिबिधि बढाउदाको परिणाम अहिले देखिएको बताइएको छ । यद्यपी सोमबार राति गलवान घाटीमा भएको के थियो भन्ने बारे वास्तविक विवरण अहिलेसम्म बाहिर आएको छैन ।

अहिले दुवै देशका सैनिक तहमा वार्ता भइरहेको बताइएको छ भने चीन र भारतका विदेशमन्त्रीले टेलिफोन कुराकानी गर्दै सीमा क्षेत्रमा भएको तनाव कम गर्न सहमत भएको बताइएको छ । त्यस्तै राजदुत स्तरमा समेत सीमामा तनाव गर्न पहल भएको मिडिया रिपोर्टहरु बाहिर आएका छन् । पछिल्लो घटनाक्रमपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्बदलीय बैठक बोलाएका छन् । यस बारेमा राष्ट्रिय धारणा बनाउन शुक्रबारका लागि सर्बदलीय बैठक बोलाएका हुन् ।

यो त भयो भयो भारत चीन विवाद । अब नेपालसँग पनि भारतको सीमा विवाद अहिलेसम्मकै उच्च तहमा पुगेको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर आफ्नो नयाँ नक्सा जारी गरिसकेको छ । र संसदमा प्रतिनिधि सभाबाट समेत पारित भइसकेको छ ।

नेपालले यी क्षेत्र आफ्नो रहेको ऐतिहासिक प्रमाण रहेको र भारतले वार्ताका लागि बेवास्ता गरेको भन्दै नक्सा जारी गरेको छ । अब अहिले भारतले भने नेपालले नक्सा जारी गरे वार्ताको वातावारण बिगारेको आरोप लगाएको छ । भारतीय पूर्व कुटनितिज्ञहरु र नेपाललाई नजिकबाट चिन्ने भारतीय नेता तथा विश्लेषकहरुले भारतकै गल्तीका कारण नेपालले अहिलेको कदम उठाउन बाध्य भएको तर्क गरिरहेका छन्, जसले भारतलाई र प्रधानमन्त्री मोदीलाई ब्याकफुटमा धकेलेको छ ।

नेपाल बारेका जानकार एसडी मुनिले अहिलेको नेपाल भारत सीमा विवाद बारे भारतले २०१५ मा नेपालविरुद्ध गरेको नाकाबन्दीपछि सम्बन्ध बिग्रेको बताउछन । साथै उनले चीनको नेपालमा बढिरहेको प्रभावका कारण पनि समस्या देखिन थालेको टिप्पणी गरेका छन् ।

वार्ताका लागि नेपालले पटक पटक आग्रह गर्दा समेत भारतले गरेको वेवास्ताले नेपाल भारत सीमा विवादले मोदी र उनको सरकारलाई थप आलोचित बनाएको छ ।

त्यस्तै भारत(पाकिस्तानबीच बर्षौ देखि सीमा विवाद छ । तर गत नोभेम्बरमा भारतले काश्मिरमा अनुच्छेद हटाएपछि उनीहरुको सम्बन्ध झन् बिग्रेको छ ।

त्यस्तै बंगलादेशसँग पनि भारतको सम्बन्ध सोचे जस्तो राम्रो बन्न सकिरहेको छैन । पछिल्लो पटक भारतले ल्याएको नागरिकता कानुनपछि विरोध प्रदर्शनका बीचमा बंगलादेशका गृहमन्त्रीले भारतको भ्रमण रद्ध गरेका थिए ।

कोरोनाका कारण खस्किदो अर्थव्यवस्था, र छिमेकीहरुसँगको तनावले प्रधानमन्त्री मोदीलाई अग्निपरिक्षाका लागि खडा गरेको छ ।

Loading
TOP