राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

५ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा ९१०० बमोजिम प्रमाणीकरण गरेकी छन् ।

विहिबार राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेकी हुन् ।

योसँगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मपतिले पारित गरेको थियो ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

त्यस्तै जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।

संबिधान संशोधनको यस विधेयकमा सबै दलले सहमति जनाएर दुवै सदनमा यसको पक्षमा मतदान गरेका थिए ।

Loading
TOP