नेकपामा फेरी मन्त्री फेर्ने कसरत, दुई बर्ष पुगेका मन्त्री फिर्ता बोलाउने तयारी

नेकपामा फेरी मन्त्री फेर्ने कसरत, दुई बर्ष पुगेका मन्त्री फिर्ता बोलाउने तयारी

५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षभन्दा बढी बहाल मन्त्रीहरुलाई विदा दिनेगरी नेकपाभित्र छलफल चलाएका छन् । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चुलिनसाथ मन्त्री हेरफेरको प्रसंग चल्ने गरेको छ । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विवाद उत्कर्षमा पुग्न लागेका बेला ओलीले फेरी मन्त्री हेरफेरको प्रस्ताव गरेका छन् ।

पार्टीको सचिवालय र स्थायी कमिटीमा बहुमत पुरयाउन ओलीले मन्त्री हेरफेरको प्रस्ताव गरेका हुन् । अर्का अध्यक्ष दाहालसँग दुई बर्ष पुगेका मन्त्रीहरुलाई एकै पटक विदा दिने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा अर्का अध्यक्ष दाहाल सकारात्मक भएको स्रोतले बताएको छ ।

दाहाल आफुलाई पटक पटक धोका दिने केही मन्त्रीहरु फेर्ने पक्षमा छन् । गृहमन्त्री रामबहादुर थापा वादललाई फेर्ने पक्षमा छन् भने उद्योगमन्त्री लेखराज भट्ट पनि पछिल्लो समय उनको नजरमा परेका छन् । तर भट्टको मन्त्री कार्यकाल दुई बर्ष पुगेको छैन ।

पूर्वमाओवादी खेमाको प्रतिनिधित्व गर्दै गृहमन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओलीमा बिलय जस्तै छन् । उनलाई मन्त्रीबाट फिर्ता बोलाउन प्रचण्डले बारम्वार प्रयास गरेका थिए । तर ओलीको जोडबलमा उनी गृहमन्त्रीमा बहाल रहेका छन् । बादललाई मात्र फिर्ता गर्दा समुहभित्र समस्या पैदा हुने भएपछि पुराना सवैमन्त्रीलाई फिर्ता गर्ने ओलीको प्रस्तावमा उनी सकारात्मक देखिएका हुन् ।

मन्त्री फेर्ने प्रस्ताव स्वीकार गरेपनि दुई अध्यक्षबीचको सम्बन्ध भने राम्रोसँग चल्न सकेको छैन । बालुवाटारको छलफल लगतै मंगलबार दुई अध्यक्ष राष्टपति कार्यालय शीतल निवास पुगेका थिए । राष्टपति विद्यादेवी भण्डारीकै अगाडी दुई अध्यक्षबीच चर्काचर्की समेत परेको थियो । ओलीले पार्टी र सरकार बद्नाम हुनेगरी चलाएको आरोप दाहालले लगाएका थिए भने ओलीले त्यसको प्रतिरक्षा गरेका थिए ।

Loading
TOP