सूर्यग्रहण जारी

सूर्यग्रहण जारी

७ असार, काठमाडौँ । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०:५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ ।

बिहान १०:५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।

शास्त्रीय मान्यता अनुसार शनिबार राति १०:५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

वैज्ञानिक मूल्यमान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ । सोसाइटीले युट्युब च्यानल मार्फत अहिले ग्रहणको प्रत्यक्ष प्रसारण गरिरहेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने सोसाइटीले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः १५  मा देखिएको सूर्यग्रहण ।v

Loading
TOP